रवि लामिछाने पक्राउ पुर्जी जारी, ठगी र संगठित अपराधमा अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीकाे टाेली साे पार्टीकाे कार्यालय पुगेकाे छ ।

यसैवीच लामिछानेले पक्राउ गर्न आएकाे टाेलीलाई कार्यकर्ता र पत्रकारसामू भनाइ राख्न दिन अनुराेध गरेकाे बताइएकाे छ ।

साथै लामिछानेकाे अनुराेध अनुसार प्रहरीले स्थलमार्ग हुँदै पोखरा पुर्‍याउने तयारी गरेकाे छ ।

शुक्रबार जिल्ला अदालत कास्कीबाट लामिछाने विरूद्ध पक्राउ पुर्जी जारी भएकाे थियाे ।

एसपी होबिन्द्र बोगटी नेतृत्वको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली रास्वपाकाे काठमाडौं बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेको छ।

सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेकाे थियाे ।

पक्राउ पुर्जी जारी भएपछि लामिछानेले आफू निर्दाेष रहेकाे भन्दै सरकारकाे कडा आलाेचना गर्नुभएकाे थियाे ।

लामिछानेले सामाजिक सञ्चालमा पाेष्ट गर्नुभएकाे स्टाटस

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??

तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?

तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।

तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?

तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?

यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।

ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

Facebook Comments