प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

 प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । 

राष्ट्रसंघको महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता भएकाे हाे ।

प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका उहाँको सचिवालयले जनाएको छ । 

त्यसअघि शनिबारै प्रधानमन्त्री ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि)  को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभयाे ।

साे अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधनमा कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएकाे थियाे ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा प्रधानमन्त्री नेतृत्वकाे टाेली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेकाे छ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न छन् ।

Facebook Comments