कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद
जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, आलमsf भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हाे ।
जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीका अनुसार रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनीहरूलाई अदालतले सजाय सुनाएको हो ।
उनीहरुले घटना भएको समयमा प्रचलित मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।
त्यस्तै मुक्ति साहलाई अदालतले सफाइ दिएकाे छ भने भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए ।
पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फाेट भएकाे थियाे ।
साे घटनामा घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार, त्यसक्रममा केही घाइतेहरु आफूलाई बचाउन आग्रह गर्दै चिच्याएका थिए । घटना सार्वजनिक हुने डरले आलमले सहयोगीहरुसँग मिलेर नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीको बयान थियो ।

