देशैभर लगातारकाे वर्षाका कारण जनजीवन प्रभावित
देशैभर लगातारकाे वर्षाकाे कारण जनजीवन प्रभावित बनेकाे छ । ललितपुरकाे च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेकाे छ ।
काठमाडाैंका नदी तटीय क्षेत्रमा बाढीले जनजीवन प्रभावित बनेकाे छ । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ ।
घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।
काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सय नगर प्रहरी परिचालन गरेको छ ।
महानगरपालिकाले विपद्का कारण जोखिममा परेका स्थानीयको उद्धारका लागि तीन सयजना नगर प्रहरीलाई १७ वटा टोली बनाएर परिचालन गरेको हो ।
त्यसैगरी बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ ।
गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो ।
ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन् ।
अविरल वर्षासँगै बाढीले एउटा ग्यास बुलेट समेत बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।
भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।

