इलाम–२ उपनिर्वाचन : मतगणना जारी, एमाले अगाडि
इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ अग्रता कायमै छ । नेम्वाङले हालसम्म ८८९८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काकाे ६ हजार २ सय ८२ मत छ । सोमबार बिहानसम्मकाे मतगणनाकाे परिणाममा नेम्वाङकाे अग्रता देखिएकाे थियाे ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६ सय ३४, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार १६२ मत पाएका छन् ।
नेकपा एकिकृत समाजवादीका जीत बहादुर राईले २३५, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १८४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४३, नेपाली जनता दलका रेशमबहादुर सुनारले ३९ मत पाएका छन् ।
इलाममा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा यो निर्वाचनमा ६९ हजार २८७ मत खसेको छ । त्यसमध्ये सोमबार बिहानसम्म १८ हजार ९४८ मत गणना भएको छ ।
अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट खड्का दोहोरिएर उम्मेदवार बन्नुभएकाे हाे ।
यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए ।

