लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुलीको विजयी
समितिकाे पदाधिकारी र सबै सदस्यमा पराजुली प्यानलकै जीत
पोखराको लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरूको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघले पहिलो पटक महिला नेतृत्व पाएको छ ।
एक दशकभन्दा बढी समयदेखि संघमा सक्रिय रहँदै आउनुभएकी जानुका पराजुली अधिकारीले यसपटक अध्यक्षमा ऐतिहासिक विजय हासिल गर्नुभएकाे हाे । उहाँको नेतृत्वमा रहेको प्यानलले कार्यसमितिका पदाधिकारी र सबै सदस्य पदमा ‘क्लिन स्विप’ गर्दै वर्चस्व कायम गरेको छ।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा जानुकाले आफ्ना प्रतिद्वन्द्वी राजेन्द्र ओझालाई १६३ मतको फराकिलो अन्तरले पराजित गर्नुभयाे । उहाँले ९९६ मत प्राप्त गर्दा राजेन्द्रले ८३३ मत मात्र प्राप्त गर्नुभयाे ।
नयाँ कार्यसमितिमा जानुकाको प्यानलबाटै वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले ९६६ मतका साथ विजयी हुनुभयाे ।
उहाँका प्रतिद्वन्द्वी उपेन्द्रराज सुवेदी राजुले ८५३ मत प्राप्त गर्नुभयाे । त्यस्तै प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले ११५० मत प्राप्त गर्नुभयाे भने मेनका श्रेष्ठलाई ६७४ मत प्राप्त भयाे । त्यस्तै द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराईले १२०८ मतका साथ आफ्ना प्रतिद्वन्द्वी धीरज कुमार श्रेष्ठलाई ६१५ मतले पराजित गर्नुभयाे ।
संघकाे महासचिव पदमा जानुका प्यानलका भरतराज ओझाले ९५५ मतका साथ विजय हासिल गर्दा उहाँका प्रतिद्वन्द्वी जीवन तिवारीले ८७६ मत प्राप्त गर्नुभयाे । उपमहासिचवमा गंगाकुमारी मल्ल १०६६ मतका साथ निर्वाचित हुनुभयाे । उहाँकाे प्रतिद्वन्द्वी लक्ष्मीप्रसाद ढुंगानालाई ३०० मतले पछि पार्नुभयाे । त्यस्तै प्रतिद्वन्द्वी हरि बस्ताकोटीले १०२७ मत प्राप्त गर्दै टिकाराम सापकोटालाई २४९ मतले पराजित गर्नुभयाे ।
एसोसिएट सदस्यतर्फ दयाराज भण्डारी २७ मतका साथ विजयी हुनुभयाे भने उनका प्रतिद्वन्द्वी प्रवेश बन्जाराले २१ मत प्राप्त गर्नुभयाे । संस्थागत सदस्यमा वीरभद्र कँडेल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ ।
खुला सदस्यतर्फ पनि जानुका प्यानलकै उम्मेदवारहरूले ‘क्लिन स्विप’ गरेका छन् । विजयी हुनेहरूमा सुजन न्यौपाने (१ हजार ७२ मत), प्रतीक्षा रानाभाट (१०४० मत), भविन्द्र पुन (१०३६ मत), वीरेन्द्रराज भुर्तेल (९७७ मत), दीपक अधिकारी (९६० मत), प्रभा कुमारी पौडेल लामिछाने (९४४ मत), कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी (दुवैले ८८३ मत) रहेका छन् ।
महिला सदस्यतर्फ शर्मिला श्रेष्ठ (११८४ मत) र गंगा सापकोटा परियार (९१० मत) विजयी हुनुभयाे ।

