माओवादी पार्टीहरू ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै
जनयुद्ध दिवस भव्य रूपले मनाउन प्रचण्डकाे अपिल
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष उद्घाेष गरेकाे दिनकाे स्मरणमा जनयुद्ध दिवस मनाइँदैछ ।

१० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टी टुटफुट र विभाजनका कारण धेरै पार्टीहरू बनेका छन् । माओवादी धारका पार्टीहरूले ‘जनयुद्ध दिवस’ मनाउँदै आएपनि अन्य दलहरू भने त्यसकाे खिलाफमा रहने गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएकाे भएपनि सर्वाेच्च अदालतले त्यसलाई बदर गर्दै जनयुद्ध दिवसलाई बैद्यता दिन अस्वीकार गरेकाे थियाे ।

जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गर्दै शुभकामना व्यक्त गर्नुभएकाे छ ।
उहाँले भन्नुभएकाे छ, ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।’

दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएको प्रचण्डले दाबी छ । जनताले सहभागितामा भएकाे प्रतिरोधले नै सामन्ती शोषण अन्त्य भएकाे तथा राजनीतिक अधिकारदेखि समाजमा उन्नत चेतना विकास भएकाे प्रचण्डले उल्लेख गर्नुभएकाे छ । प्रचण्डले देशैभर जनयुद्ध दिवस भव्य रूपले मनाउन अपिल समेत गर्नुभएकाे छ ।

माओवादी केन्द्रकाे नेतृत्व रहेका देशका विभिन्न पालिकाहरूले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएका छन् ।


