नेकपा एमालेकाे एघाराैं महाधिवेशन आजबाट

 नेपाल कम्युटिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले)काे एघारौं महाधिवेशन आजबाट सुरु हुँदै छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ भक्तपुरको सल्लाघारीमा महाधिवेशनकाे उद्घाटन कार्यक्रम गर्न लागिएकाे छ ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नुहुने महाधिवेशन यसपटक जेन–जी आन्दोलनपछि विकसित नयाँ परिस्थितिका कारण एक वर्ष अगाडि नै गर्न लागिएकाे हाे ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महसचिव शंकर पोखरेलले सांगठिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको प्रतिवेदनमाथि ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपनि साे प्रस्तावमाथि छलफल नहुने बताइएकाे छ ।

पाेखरेलनले केन्द्रीय कार्यालयमा ‘अवधारणा–पत्र’ दर्ता गराउनुभएकाे छ । पार्टीमा आन्तरिक लोकतन्त्र कमजाेर भएकाे आलाेचना गर्नेमाथि नेतृत्वकाे दण्डित गर्ने शैलीबारे प्रश्न उठाइएकाे छ ।

यो महाधिवेशनमा ओलीलाई ईश्वर पोखरेलकाे नेतृत्वमा वैचारिक र नेतृत्वमा पनि चुनौती दिने तयारीमा इतरपक्ष लागेकाे छ । ओलीकै कारण अहिलेकाे परिस्थितिमा मुलुक पुगेकाेले नेतृत्व छाड्नुपर्ने तर्क पाेखरेल समूहकाे छ । तर ओलीपक्षले राम्राे काम गर्दा पनि षडयन्त्रमूलक ढंगले ओली हट्नुपरेकाे तर्क गर्ने गरेकाे छ ।

Facebook Comments