घुस डिलबारे सरकार माैन
कर्मचारी सरूवा र भूमी आयोगमा अध्यक्ष नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिचौलियासँग घुस लेनदेन गरेकाे अडियाे सार्वजनिक भएकाे छ ।
यद्यपि मन्त्री गुप्ता र विचाैलिया भनिएका व्यक्तिले साे अडियाे फेक भएकाे भन्दै छानविनकाे माग गरेका छन् ।
उक्त अडियो विवरणले सडक र सदन तातेकाे छ तर सरकार भने माैन रहेकाे छ । केही समय पहिला नै सार्वजनिक भएकाे अडियाे र अख्तियारमा समेत उजुरी परेकाे बिषयमा भने सरकार माैन रहेकाे छ ।
स्वयं प्रधानमन्त्री केपी शर्मा ओली भष्ट्राचार नगर्ने भन्दै भाषण भने गरिरहनुभएकाे छ, प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग पनि रहेकाे छ । तर मन्त्रीपरिषद्कै सदस्यहरूकाे विवादास्पद भूमिकाबारे भने सरकार माैन जस्तै रहेकाे छ । कतिपय अवस्थामा विवादित व्यक्तिकै वचाउमा लागेकाे समेत देखिन्छ ।
प्रधानमन्त्री स्वयंकाे दल नेकपा एमालेका नेता तथा आफ्नै मन्त्रिपरिषद्का सदस्य गुप्तामाथि कुनै कारबाहीकाे छनक याे देखिएकाे छैन ।

भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा थमौतीका विषयमा मन्त्री गुप्ताले घुस डिल गरेकाे अडियाेबाट बुझिन्छ ।
मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समेत घुस खाइसकेकाे भन्ने संवाद अडियाेमा सुन्न सकिन्छ । डिल भएकाे घुस रकम अन्य ठाउँमा पठाउनुपर्ने मन्त्री गुप्ताकाे अडियाेमा उल्लेख छ । यसले संस्थागत रूपमा नै घुस लिन खाेजिएकाे देखिन्छ ।
याे विषयमा सदनमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीकाे जवाफ मागेका छन् । माओवादी सांसद सुदन किरातीले संसद्मा प्रधानमन्त्री ओलीले गरेको भ्रष्टाचारविरोधी प्रतिबद्धता जनाएपनि कुशासनकाे तक्मा थपिरहेकाे जिकीर गर्नुभएकाे छ ।
लाखाैं घुस डिलबारेकाे अडियाे प्रकरणबारे सरकारकाे एक्सन सामान्य झारा टार्ने वा गम्भीर अनुसन्धान गर्ने कस्ताे रहनेछ त्याे भने हेर्न बाँकी छ ।

