एमाले महाधिवेशनः आजदेखि बन्द सत्र
नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गत आज आइतबारदेखि बन्द सत्र सुरू हुँदैछ । हिजाे शनिबार भक्तपुरकाे सल्लाघारीमा उद्घाटन गरिएकाे महाधिवेशनकाे बन्द सत्र भने काठमाडाैंकाे भृकुटीमण्डपमा हुँदैछ ।
अध्यक्ष मण्डलले बन्द सत्र सञ्चालन गर्नेछ। अध्यक्ष मण्डल बनेलगत्तै मौजुदा केन्द्रीय कमिटी भंग हुनेछ। र, निर्वाचन प्रक्रिया आरम्भ हुनेछ ।
एमालेको आगामी केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २५१ सदस्यीय हुने विधानकाे व्यवस्था छ । अध्यक्ष पदका हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिन्छ ।
पदाधिकारीमा दुवै पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने बुझिएकाे छ ।
ओलीले केन्द्रीय कमिटीकै वहालवाला पदाधिकारी दाेहाेरिने संभावना रहेकाे स्राेतकाे दावी छ । महासचिवमा शंकर पोखरेल नै दोहोरिने सम्भावना बढेपनि साेही समूहबाट उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङले अडान राखेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डे वा गाेकर्ण विष्टलाई उभ्याउने संभावना छ । हालका सचिव याेगेश भट्टराई उपमहासचिवकाे उम्मेदवार बन्ने टुंगाे लागेकाे छ ।
पदाधिकारीमा नाम टुंगो लगाउन दुवै पक्षले आन्तरिक तयारी तीव्र गरिरहेका छन् ।

