आईसीसी टी-२० विश्वकपकाे छनाैट खेलः नेपालद्वारा ओमान ३८ रनले पराजित
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेलमा ओमानलाई ३८ रनले पराजित गरेकाे छ ।
जारी छनाैट खेलमा अपराजित यात्रा कायम राख्दै नेपालले बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराएकाे हाे । याे जीतसँगै नेपाल राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाउन सक्यो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।
नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । यसअघि नेपालले आइतबार युएई र कतारलाई पराजित गरेकाे छ । नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।
प्रतियाेगितमा नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

