पोखरा २६ मा उद्घोषण तथा समूह व्यवस्थापन तालिम सम्पन्न
महिलाको नेतृत्व क्षमता अभिवृद्धिमा जोड

पोखरा महानगरपालिका वडा नं. २६ मा महिलाहरूको नेतृत्व क्षमता विकास गर्ने र सार्वजनिक मञ्चमा बोल्ने कला अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको साताव्यापी ‘उद्घोषण तथा समूह व्यवस्थापन’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
वडा कार्यालयको आयोजना र शुभ पाटी प्रालिको समन्वयमा दुई चरणमा सञ्चालित यस तालिमबाट १२० जना महिला लाभान्वित भएका छन्।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नरेन्द्र थापाले महिलाको सक्रिय सहभागिता र क्षमता विकासविना वडाको समग्र विकास असम्भव रहेको बताउनुभयो। “यो तालिम केवल एक सुरुवात हो। यहाँ सिकेका ज्ञान र सीपलाई आफ्नो टोल र समूहमा फैलाएर नेतृत्व लिनुहोस्,” उहाँले भन्नुभयो, “वडालाई नमुना बनाउने अभियानमा म लागिरहेको छु। तपाईंहरू पनि अन्य वडामा नभएका नयाँ र सिर्जनात्मक कार्यक्रमहरू माग गर्नुहोस्, हामी सहयोग गर्न तयार छौँ।
” कार्यक्रममा वडा सदस्य सुजता बराल सुनारले विगतमा सञ्चालित छोटा अवधिका तालिमहरू अपर्याप्त भएको गुनासो आएपछि यसपटक सहभागीको मागअनुसार नै साताव्यापी तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सहभागी दिदीबहिनीहरूको प्रस्तुतिले म अत्यन्तै प्रभावित भएकी छु। अब हरेक आमा समूह र टोल विकास संस्थामा यहीँबाट प्रशिक्षित नेतृत्वकर्ता उदाउनेमा म पूर्ण विश्वस्त वडाका सूचना अधिकारी नवराज सापकोटाले तालिममा सहभागीहरु राम्रोसँग प्रशिक्षित भएकाले सिकेका ज्ञान, सीप र क्षमतालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
तालिमका प्रमुख प्रशिक्षक घनश्याम पाण्डेले सहभागीहरूको सिक्ने हुटहुटी, ऊर्जा र जिज्ञासु स्वभावको प्रशंसा गर्नुभयो। “तालिमले तपाईंहरूभित्र लुकेको प्रतिभालाई बाहिर निकाल्ने काम मात्र गरेको हो। तपाईंहरूको सक्रियताले हामीलाई पनि थप ऊर्जा मिल्यो,” उहाँले उल्लेख गर्नुभयो।
तालिमले आफूहरूमा अभूतपूर्व आत्मविश्वास थपेको सहभागीहरूले बताए। सहभागी शान्ति केसी र सोनु तामाङले भन्नुभयो, “हिजोसम्म मञ्चमा पुग्नासाथ मुटु ढुकढुक हुन्थ्यो, बोल्न खुट्टा काँप्थे। तर, आज हामी ढुक्क भएर आफ्ना कुरा राख्न सक्छौँ।”
अर्की सहभागी टीका कुमारी सिग्देलले तालिमले जीवनमा केही गर्ने प्रेरणा दिएको बताउनुभयो। समापन कार्यक्रममा राजेश्वरी ढुंगाना, हिरा रानाभाट लगायतका सहभागीहरूले गीत मार्फत तालिमको अनुभव र सिकाइ प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा थप रौनक थपेको थियो। जेठ २० देखि २६ र जेठ २८ देखि असार ३ गतेसम्म गरी दुई चरणमा तालिम सञ्चालन भएको थियो।
समापन समारोहमा वडाध्यक्ष थापा, वडा सदस्यहरू लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, तीर्थबहादुर राजभाट र वडा सचिव लिलामणि भण्डारीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन तालिमकै सहभागी अप्सरा अधिकारी तिमिल्सिनाले गर्नुभएको थियो,


