एनपीएलः दाेस्राे दिनकाे खेलमा विराटनगर किंग्स र चितवन राइनाेज विजयी

त्रिवी क्रिकेट मैदानमा जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)काे दाेस्राे दिन २ खेल सम्पन्न भएका छन् ।

मंगलबार भएका खेलमा विराटनगर किंग्स र चितवन राइनाेज विजयी भएका छन् ।

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकै उच्च स्कोर बनाउँदै मंगलबार पोखरा एभेन्जर्समाथि ५३ रनको विजय हात पारेको हाे ।

२ सय २१ रनको विशाल लक्ष्य लिएर आएको पोखरा १८.५ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनाएको थियो, जुन एनपीएल क्रिकेटकै उच्च स्कोर हो ।

त्यस्तै पहिलाे खेलमा रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्याे ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।

चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर दीपक बोहराले ४२ रन जोडे । सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक/एक विकेट लिए ।

चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो । यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो । लिग चरणमा कर्णाली ५ विकेटले विजयी भएको थियो भने एलिमिनेटरमा २१ रनले विजयी भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले तीन विकेट गुमाएर १६६ रन बनाएको थियो । 

Facebook Comments