युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा

नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयाे । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा पुग्नुभएकाे छ ।

महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिनुभयाे । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ । महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ ।

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ । ११ जेठसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब २ हजार जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

Facebook Comments