पोखरा लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री थुनामा
विशेष अदालतले पोखरा लिचीबारी जग्गा भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताविरुद्ध परेको घुस मुद्दामा प्रमाणहरु केलाउँदै गुप्तालाई थुनामा पठाउनुपर्ने भनेको हो ।
विहीबार अदालतमा उपस्थित भएर तत्कालीन मन्त्री गुप्ताले ‘पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बाहेक मुद्दामा मुछिएका अरुलाई चिन्दिनँ’ भनेर बयान दिनुभएकाे थियाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका बेला पोखरा लिचीबारी जग्गा प्रकरणमा घुस लिएको आरोप मन्त्री गुप्तामाथि लागेकाे थियाे ।

त्यतिबेला बयानमा भने आरोप झुटो रहेकाे, घुस नलिएकाे र प्रविधिको दुरुपयोग गरी अडियो रेकर्ड तयार गरिएको भन्ने गुप्ताकाे जिकीर थियाे ।
रञ्जिता श्रेष्ठ, सुजन तामाङ र राजकुमार गुप्ताविच पटक–पटक फोन भएको प्रमाण अदालतमा पेश गरिएकाे छ । साे लगायतका प्रमाणका आधारमा गुप्तालाई थुनामा पठाउनुपर्ने भनेको हो ।
बिचौलिया सुजनकुमार तामाङका साथै खेमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरलाई प्रतिवादी बनाइएको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा एमाले नेता बलराम अधिकारीमाथि पनि छानविन भइरहेकाे छ ।
लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्ने योजनासहित घूस डिल गरिएको अडियो गत असारमा सार्वजनिक भएको थियो ।

