कांग्रेसमा महाधिवेशनबारे विवादः केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै

नेपाली कांग्रेसमा नियमित या विशेष महाधिवेशन भन्ने बिषयमा लामाे रस्साकस्सीपछि पाैषमा नियमित महाधिशेन गर्ने निर्णय भएपनि साेकाे कार्यान्वयन नहुने निश्चित भएकाे छ ।

नियमति महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेर महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुक गरेपछि कांग्रेसमा थप संकट देखिएकाे छ ।

महाधिवेशनबारे विवाद बढ्ने देखिएपछि आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बोलाइएको छ ।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेपछि बैठक बाेलाइएकाे हाे ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो । त्यस तालिकाअनुसार वडा र पालिका अधिवेशन हुनुपर्नेमा साे हुन सकेकाे छैन ।

कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिकाे माग अनुसार  महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाएपछि कांग्रेसभित्रकाे विवाद थप पेचिलाे बन्ने निश्चित छ ।

देउवा लगायतका संंस्थापन पक्षका नेताहरू फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन ताेकिएकाले साे निर्वाचनभन्दा पछिमात्र महाधिवेशन गर्नपुर्ने पक्षमा रहेका छन् ।

Facebook Comments