माैसमः देशभर मनसुनी वायूको प्रभाव

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार आज साेमबार दिउँसो देशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा, मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केहि स्थानमा हावाहुरीको सम्भावना समेत रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

साेमबार राती देशभर साधारणतया बादल लाग्नेछ । महाशाखाका अनुसार रातकाे समयमा देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू-भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

Facebook Comments