पाेखरा विमानस्थलमा निशुल्क सटल बस, काठमाडाैंमा रात्रीकालीन बस सेवा सञ्चालन
पाेखरा विमानस्थलमा निशुल्क सटल बस सेवा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकसम्म निशुल्क विद्युतीय सटल बस सेवा सुरु भएको छ ।

नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि दुईतर्फी रूपमा यो सेवा सञ्चालनमा आएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मंगलबार विमानस्थल परिसरमा आयोजित एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गर्नुभयाे ।
३ महिनाका लागि बसमा यात्रा गर्दा शुल्न तिर्नुपर्दैन । पाेखरा महानगरपालिकाले महानगर यातायात प्रालि काठमाडौं, कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँग बस सेवा सञ्चालनका लागि सहकार्य गरेकाे छ ।
विद्युतीय बस चार्ज गर्नका लागि अहिले पर्यटक बसपार्कमा रहेको चार्जिङ स्टेसनमा आवश्यक व्यवस्था मिलाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार बसको समय तालिका थपघट गर्न सकिनेछ ।
सटल बस सेवा शुभारम्भ कार्यक्रममा विभिन्न सरकारी अधिकारी र जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

काठमाडौं उपत्यकामा मंगलबारदेखि रात्रिकालीन बस सेवा सुरू भएकाे छ ।
काठमाडाैं र ललितपुर महानगरपालिकाका मेयरहरू सहितले रात्रिकालीन बस सेवाकाे शुभारम्भ गर्नुभएकाे छ ।
काठमाडाैं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले दुई वटा रूटमा रात्रीकालीन बससेवा सञ्चालन हुने र साेका लागि महानगरपालिकाले सहकार्य गरेकाे जानकारी दिनुभयाे ।
साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन् ।
काठमाडाैं, ललितपुर महानगर, चन्द्रागिरि नगर, बुढानिलकण्ठ नगरपालिका र साझा यातायातको सहकार्यमा सञ्चालन भएको बस सेवा प्रत्येक २० मिनेटमा उपलब्ध हुनेछन् ।

बसमा सुरक्षाका लागि एक जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ।
हरेक बसमा अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामरा जडान गरिएकाे छ । जसले यात्रुकाे सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाे छ ।

