माैसमः देशैभर वर्षा, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको र उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीको रुपमा रहने सम्भावना रहेको छ।

हाल मौसमको अवस्था सम्बन्धमा भने महाशाखाकाे बुलेटिनमा देशभर अधिकांश बादल लागेको तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको उल्लेख छ ।
शुक्रबार दिउँसो र रातकाे समयमा देशभर अधिकांश बादल लाग्ने महाशखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू-भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग, कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा साथै मधेश प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हुन सक्ने छ । महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा, लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने उल्लेख गरेकाे छ । त्यस्तै मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शुक्रबार रातकाे समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले बुलेटिनमा उल्लेख गरे अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका र कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा, मधेश तथा कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

