पाँच जिल्लाका राजमार्गका विभिन्न सडकखण्ड अवरूद्ध

देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूको यातायात सेवा प्रभावित भएको छ। 

नेपाल प्रहरीका अनुसार संखुवासभा, काभ्रे, नुवाकाेट, रसुवा, धादिङ जिल्लामा पर्ने राजमार्गका विभिन्न सडक खण्डमा बाढी पहिराेका कारण सडक अवरूद्ध रहेकाे छ । कतिपय सडकखण्डहरू पूर्णरूपमा अवरूद्ध छन्र भने कतिपय सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

कोशी प्रदेशअन्तर्गत सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका-४ स्थित नेता भिरमा असोज २ गते बिहान १०:३० बजे पहिरो जाँदा कोशि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवा र नुवाकाेटमा सवारी सञ्चालनमा सास्ती

गत भाद्र १० गते रसुवाकाे भाेटेकाेशी त्रिशुली नदीमा आएकाे बाढीका कारण रसुवा र नुवाकाेटमा सवारी सञ्चालनमा सास्ती वेहाेर्नुपरेकाे छ । मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सडकमा जाेखिमपूर्ण रूपमा यातायात सञ्चालन गर्नुपरेकाे छ । रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । यस्तै पासाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा भाद्र १० गते बिहान १०:३० बजे बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। 

नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित घट्टेखोलामा असोज ०१ गते राति २२:०० बजेदेखि सम्भावित बाढी र पहिरोको जोखिमका कारण टोखा छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

धादिङमा पृथ्बी राजमार्ग एकतर्फी सञ्चालनमा

धादिङ जिल्ला भएर जाने पृथ्वीराजमार्गमा भने पहिरो हटाई सवारी आवागमन एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाडखोलामा भदौ १६ गते र शीतलबजारमा भदौ २६ गते गएको पहिरो सफा गरी सडकलाई एकतर्फी सुचारु गराइएको छ।  

Facebook Comments