एमाले केन्द्रीय कमिटी बैठक आज, पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदनबारे छलफल हुने
नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक आज बस्दैछ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एकीकृत प्रतिवेदनबारे छलफल हुने बताइएकाे छ ।
सोमबार ११ बजेदेखि ललितपुरको एक पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठक बसेर केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने तयारी छ ।
यसअघि आइतबार भएकाे सचिवालय बैठकमा भने निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एकीकृत प्रतिवेदन बुझ्न अध्यक्ष केपी ओलीले अस्वीकार गर्ने भन्दै आनाकानी गरेपछि नेताहरूवीच सवालजवाफ चलेकाे बताइएकाे छ ।
सुरुमा अध्यक्ष ओलीले प्रतिवेदन बुझ्न नमानेतकाे तर, कार्यदलमा जुटेको सहमति अनुसार बनेको प्रतिवेदन तपाईंले नबुझेर सुख छैन भन्ने नेताहरूकाे दबाव पछि मात्र ग्रहण गर्नुभएकाे थियाे । पार्टी पदाधिकारी लगायतमा २ बर्षे कार्यकाल र ७० वर्षे उमेरहदका सवालमा विधान महाधिवेशनले आवश्यक निर्णय गर्ने तथा अनुसूचीमा नेतृत्व परिवर्तन सम्बन्धी बिषय समावेश भएकाले प्रतिवेदनमा ओलीकाे असहमति प्रकट भएकाे हाे ।
तर उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, रघु पन्त, गोकर्ण विष्ट तथा उपमहासचिव योगेश भट्टराई, सचिव हिक्मत कार्की लगायत बहुमत सचिवालय सदस्यले कार्यदलले सङ्कलन गरेको सुझावलाई बेवास्ता गर्न नमिल्ने बताएका थिए ।

