इरानकाे उर्जा उत्पादन केन्द्र ध्वस्त पार्ने ट्रम्पकाे चेतावनी

अमेरिकाले होर्मुज जलडमरु मार्ग पूर्ण रूपमा नखोले इरानका ऊर्जा उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएकाे छ ।

अमेरिका इजरायलले इरानमाथि आक्रमणकाे चाैंथाे हप्तामा सैन्य कार्वाही कम गर्ने भनेपनि शनिबार सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे यस्ताे धम्की आएकाे हाे ।

४८ घण्टाभित्र उक्त जलमार्ग बिना कुनै अवरोध खुला नगरे अमेरिका कडा सैन्य कारबाहीमा उत्रिने घाेषणा ट्रम्पकाे छ ।

यो चेतावनी युद्ध थप खतरनाक चरणमा प्रवेश गरिरहेको बेला आएको हो । इजरायली अधिकारीहरूका अनुसार इरानले पहिलोपटक लामो दूरीका मिसाइल प्रहार गरेको छ, जसले मध्यपूर्वभन्दा बाहिरसम्म आक्रमणको जोखिम बढाएको छ । यसैबीच, इरानको आक्रमणमा इजरायलको परमाणु केन्द्र नजिकै दर्जनौं मानिस घाइते भएका छन् ।

इरानले हिन्द महासागरस्थित अमेरिकी–बेलायती सैन्य अड्डा डिएगो गार्सियातर्फ ४ हजार किलोमिटर दूरीसम्म पुग्ने दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियाे ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले आक्रमण शुरू गरेयता इरानले पहिलोपटक यस्ता लामो दूरीका मिसाइल प्रयोग गरेको इजरायली सेनाले जनाएको छ ।

अमेरिका र इजरायलले आक्रमण शुरू गरेयता इरानमा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । यस्तै, इजरायलमा पनि इरानी आक्रमणबाट १५ जनाको ज्यान गएको छ ।

शनिबार राति इरानी मिसाइलहरूले दक्षिणी इजरायलका डिमोना र अराद शहरमा प्रहार गर्दा बालबालिकासहित दर्जनौं मानिस घाइते भएका छन् । इरानको रिभोल्युसनरी गार्ड्सले दक्षिणी इजरायलका सैन्य प्रतिष्ठान र सुरक्षा केन्द्रहरूलाई लक्षित गरिएको जनाएको रोयटर्सले लेखेको छ ।

इजरायलले इरानकाे आक्रमणपछि अराद संकटकालकाे घाेषणा गरेकाे छ ।

Facebook Comments