अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा वार्ता भएकाले इरानमा ५ दिनका लागि आक्रमण राेक्ने घाेषणा, इरानद्वारा वार्ता नै नभएकाे दाबी
अमेरिका-इजरायल र इरानवीचकाे युद्धका कारण विश्व नै चिन्तित भइरहेका बेला अमेरिकी राष्ट्रपतिले इरानसँग वार्ता भएकाे र ५ दिनका लागि इरानी उर्जा संयन्त्रमा गरिने आक्रमण स्थगित गरिएकाे बताएपनि वार्ताबारे फरक दाबी आएका छन् ।
जारी युद्धको चौथो हप्तामा प्रवेश गर्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वका फरक फरक धारणा सार्वजनिक भएका हुन् ।

अमेरिकाले इरानसँगको वार्तालाई सकारात्मक भन्दै आक्रमण रोक्ने घोषणा गरे पनि इरानले भने ठाडै अस्वीकार गरेको छ ।
ट्रम्पले इरानलाई होर्मुज जलमार्ग नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिएको ४८ घण्टाको अल्टिमेटम समाप्त हुनु केही समयअघि मात्र इरानसँग वार्ता भएकाले ५ दिनका लागि सैन्य हमला नगर्ने भन्दै आफ्नो अडान परिवर्तन गर्नुभएकाे थियाे ।
ट्रम्पले आगामी पाँच दिनसम्म इरानी पावप्लान्टहरूमा कुनै पनि सैन्य हमला नगर्न ‘डिपार्टमेन्ट अफ वार’ रक्षा मन्त्रालयलाई निर्देशन दिनुभयाे ।
इरानी पक्षले ट्रम्पको दाबीलाई कडा शब्दमा खण्डन गरेको छ । इरानको आधिकारिक अडानमा विदेश मन्त्रालय र सञ्चारमाध्यमहरूले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि वार्ता नभएको उल्लेख छ ।
इरानको सरकारी टेलिभिजनले तेहरानको कडा चेतावनीका कारण अमेरिकी राष्ट्रपति पछाडि हटेको दाबी गरेकाे छ । विश्वव्यापी इन्धन व्यापर प्रभावित बनाउन ट्रम्पकाे पछिल्लाे प्रतिक्रिया आएकाे हुनसक्ने इरानकाे बुझाइ छ ।
इरानी सञ्चारमाध्यमका अनुसार, विश्वव्यापी तेल बजारमा आएको उछाल र इरानले पश्चिम एसियाका सबै अमेरिकी ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएपछि अमेरिका पछाडि हटेको हाे ।

