चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणका क्रममा वासिङटन डिसी पुग्नुभएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी लाई विशेष स्वागत गर्नुभएकाे छ । अमेरिकी कुटनीतिक इतिहासमा विरलै हुने स्वागत ट्रम्पले गर्नुभएकाे हाे ।

सी वासिङ्टनमा तीनदिने भ्रमणका क्रममा ज्वाइन्ट बेस एन्ड्र्युजमा सी र उनकी पत्नी पेङ लियुआनलाई ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले रातो कार्पेटमा अभूतपूर्व औपचारिक सम्मानसहित स्वागत गर्नुभएकाे हाे ।

दुवै देशबिच व्यापार युद्ध जारी रहेका बेला भएको सीको भ्रमणलाई अमेरिका–चीन सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

स्वागत समारोहमा २१ तोपको सलामी, अमेरिकी वायुसेनाको ब्याण्ड, अमेरिका र चीनका राष्ट्रिय झन्डा तथा दुवै देशका सैनिक प्रतिनिधि सहभागी थिए । दुई बी–१ बमवर्षक विमानले पनि आकाशबाट उडान भरेका थिए ।

सीसँग चीनका कम्युनिस्ट पार्टीका पोलिटब्युरो स्थायी समिति सदस्य काई ची, विदेशमन्त्री वाङ यी, उपप्रधानमन्त्री हि लिफेङ र अमेरिकाका लागि चिनियाँ राजदूत सिए फङलगायत वरिष्ठ अधिकारी छन् । 

ट्रम्प–सी वार्तामा व्यापारबाहेक ताइवान, एआई, इरान युद्ध र सुरक्षा विषय पनि महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

एआई क्षेत्रमा अमेरिका र चीनबिच विश्वव्यापी नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र छ । यसअघि मे महिनामा ट्रम्प र सीवीच चीनमा भेटवार्ता भएकाे थियाे ।

Facebook Comments