भेनेजुएलामा शक्तिशाली भुकम्प
भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार यो शृङ्खलाबद्ध भूकम्पीय गतिविधिमा ७.५ म्याग्निच्युडको मुख्य भुइँचालो गएको हो।
सुरुमा ७.२ म्याग्निच्युडको भूकम्प गएको भनिए तापनि भूकम्पीय तथ्याङ्कहरूको विस्तृत विश्लेषणपछि अधिकारीहरूले त्यसलाई परिमार्जन गर्दै ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघिको पूर्वकम्पका रूपमा वर्गीकरण गरेका छन्।
भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएकाे हाे ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ ।
दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको जनाइएको छ । अहिले यो समाचार तयार पार्दा क्षतिको विवरण आएकाे छैन भने उद्दार कार्य जारी छ ।

