जनमोर्चाले संघीयताको विपक्षमा संशोधन दर्ता गर्ने
राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा संघीय संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । राजधानीको संवाद चौतारीमा आयोजित कार्यक्रममा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको जानकारी दिनुभयो ।
कांग्रेस एमालेले समेत संघीयता नचाएको तर बाध्यतामा परेर संघीयता स्वीकारेको केसीको भनाई थियो । संघीयता नेपालका राजनीतिक दलको एजेण्डा नभइ कसैले बोकाइदिएको केसीको जिकीर रहेको छ ।
नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएको केसीको भनाई छ । उहाँले अहिले जनता स्वयमनै संघीयताको विपक्षमा रहेको जिकिर समेत गर्नुभयो ।
जनभावनाको कदर गर्दै जनमोर्चाका तर्फबाट संघीयता खारेजीका लागि संशोधन प्रस्ताव दर्ता गर्ने उहाँको भनाई छ । केसीले आफू संघीयता बिरोधी नभई नेपालमा मात्र संघीय प्रणाली सापेक्ष नहुने बताउनुभयो ।
उखान टुक्का जोड्दै केसीले भन्नुभयो, अहिले संघीयता ‘खर्च न पर्च काँसी जानपर्छ भने जस्तो भएको छ ।’ जनमोर्चा संघीयताको विपक्षमा रहँदै आएको छ ।

