पार्टी एकताका बाँकी काम टुंग्याउन अध्यक्षद्वय ओली र प्रचण्ड सहमत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे सहमति जुटेकाे छ । दुइ नेतावीच भएकाे छलफलपछि पार्टी एकतालाई साउन ५ गते बस्ने सचिवालय बैठकबाट पूर्णता दिने सहमति भएको छ ।
केही दिनयता दुइ नेतावीच पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे घनीभूत छलफल भएकाे बताइएकाे छ । यसअघि दुवै नेताले सार्वजनिक मञ्चहरूमा असार मसान्तभित्रै पार्टी एकतालाई पूर्णता दिने बताउँदै आएका थिए ।
सार्वजनिक घोषणालाई पुरा गर्न दुई अध्यक्षवीच मंगलबार भएको छलफलमा जिल्ला इञ्चार्ज, सहइञ्चार्ज र विभागहरुको भागवण्डा टुंगो लगाएको छ । सहमति अनुसार पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।
संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्ने ठूलो रस्साकस्सी छ । संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दाबी छ भने स्कुल विभागमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठको दाबी छ ।
केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ । मंगलबारकाे छलफलमा महासचिव बिष्णु पाैडेल र नेता रामबहादुर थापाकाे समेत उपस्थिति रहेकाे बताइएकाे छ ।

