साउने संक्रान्ति मनाईंदै, लुतो फाल्ने दिन
असार सकिएर श्रावण महिना शुरु भएको छ । साउन महिनामा भगवान शिवको पुजा आरधना गरिन्छ । यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।
श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ ।
बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्याेतिष शास्त्रअनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो ।
सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्थ तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।
श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ ।
विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु(स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।
आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।
यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् ।
श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नका लागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर बस्नुभएको धार्मिक विश्वास रही आएको छ ।
यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको पनि धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
लुतो फाल्ने दिन
खास गरी असार महिनाभरि धान रोप्ने काममा संलग्न हुने क्रममा कृषकहरु पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलोमा रहनुपर्ने हुन्छ ।
गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ ।
साउने संक्रान्तिका दिन हिन्दु धर्मावलम्बीहरुले लुतो फाल्ने गर्दछन् । लुतो फाल्ने आ(आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ ।

यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ ।
घरमा आजको दिन साँझ लुतो फाल्ने प्रचलन रहेको छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।

