यती एअरलाइन्सले पाेखराबाट भैरहवा र भरतपुरमा उडान गर्ने
निजी बायू सेवा कम्पनी यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गते देखि भरतपुरमा उडान गर्न लागिएको कम्पनीले आज पोखरामा पत्रकार भेटघाटको आयोजना गरेर जानकारी दिएको हो ।
कम्पनीका म्यानेजर एवं प्रबक्ता भीमराज राईका अनुसार पाेखरा, भैरहवा उडानका साथै माउन्टेन फ्लाइट अन्तर्गत अन्नपूर्ण एक्सप्रेस सञ्चालन गरिनेछ ।
भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्स कम्पनीका डाइरेक्टर सरल राणाले जानकारी दिनुभयाे ।
३० सिटर जेटस्ट्रिम विमानबाट उडान भर्न लागिएको कम्पनीले जनाएको छ । पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २० देखि २५ मिनेटको हुने बताइएको छ ।
हाल यसअघि बुद्ध एयरले १९ सिट क्षमताको सानो जहाजबाट पोखरादेखि भैरहवा र भरतपुरमा दैनिक एक उडान थालेको छ ।
यतीले भने त्यो भन्दा ठूलो जहाज सो रुटमा उडाउन लागेको हो । पोखरा भैरहवाको लागि टिकट दर चार तहमा छुट्टाएको छ जस्मा २७ सय देखि ४हजार ३ सय ५० सम्म रहेको छ ।
यस्तै पोखराबाट भरतपुर सम्म २५ सय देखि ३८ सय भाडा रहेको जनाएको छ ।
यस्तै माउण्टेन फ्लाईटमा नेपालीको लागि ८ हजार र विदेशीको लागि ९० डलर भाडा रहेको कम्पनीले जनाएको छ ।

