सेक्रेटरी सुजनलाइ झुट्ठा मुद्दा लगाएको भन्दै विप्लव नेतृत्वकाे नेकपाकाे घोर आपत्ति
विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कास्की जिल्ला सेक्रेटरी सुजनलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएकाे भन्दै आपत्ति जनाएको छ ।
सुजनलाई पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति जनाएको हाे ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज रुपेशद्वारा मंगलबार एक प्रेस बिज्ञप्तिमा जारी गर्दै सेक्रेटरी सुजनलाई पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा आपत्ति जनाउनुभयाे ।
विज्ञप्तिमा “पार्टी कामको सिलसिलामा रहेका सेक्रेटरी सुजनलाई केपी-बादल प्रशासनका मतियारहरुले गिरफ्तार गरी पोखराको सस्तो बजारमा विगतमा भएको आन्दोलनसँग जोडेर झुट्ठा मुद्दा लगाएकोमा घोर आपत्ति र भर्त्सना गर्दै जनाउंदै अविलम्व झुट्ठा मुद्दा खारेज गरी रिहाईका लागि जोडदार माग गरिएकाे छ ।
घटनाकाे विराेध गर्दै सशक्त प्रतिरोधमा उत्रन वाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको दोषी केपी-बादल प्रशासन नै हुने चेतावनी पनि सोही विज्ञप्तिमा दिइएकाे छ ।
नेता रुपेशले पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा बिगतमा भएका आन्दोलनहरुमा आफ्नो पार्टीको संलग्नतालाई स्वीकार गर्दै सैयौं स्वरोजगार मजदूरहरुको रोजी-रोटी खोसिने गरी केही दलाल र माफियाहरुले सस्तो बजार कब्जा गर्न खोजेपछि चलेको आन्दोलनमा पार्टीले सहयोग र समर्थन गरेको सोही विज्ञप्ति मार्फत स्पष्ट पार्नुभएकाे छ ।
आगामी दिनहरुमा हुने यस्ता खाले आन्दोलन र संघर्षहरुमा पार्टीको सहयोग रहने प्रतिबद्धता पनि विज्ञप्तिमा जनाइएकाे छ ।
जनताको पक्षमा गरिएको आन्दोलन र संघर्षलाई वहाना बनाएर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाईनु घोर आपत्तिजनक र निन्दनीय कार्य भएको बिज्ञप्तिमा उल्लेख छ ।

सुजनलाई ज्यान मार्ने मुद्दा
यसैबीच प्राप्त जानकारी अनुसार,कास्की सेक्रेटरी लोकेन्द्र विक’सुजन’लाई प्रहरीले ज्यान मार्ने उद्योग तथा बिस्फोटक पदार्थसम्बन्धि मुद्धा लगाएको छ। प्रहरीले उनीमाथि पोखराको पृथ्वीचोकमा सस्तो बजार सञ्चालन गर्दै आएका युवराज खतिवडामाथि आक्रमण गरेको तथा सस्तो बजारमा बिस्फोट गराएको अभियोग लगाएको हो।
बझाङ केदारस्यूँ स्थायी घर भई हाल तनहुँको बन्दीपुरमा बस्ने लोकेन्द्रलाई प्रहरीले २०७४ साल वैशाख १८ गते युवराज खतिवडामाथि पोखराको नदीपुरमा भएको आक्रमणमा लोकेन्द्र संलग्न रहेको जिकिर गरेको छ।
त्यतिबेला युवराजमाथि २ वटा मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरेका थिए। सो आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए।
पोखराको पृथ्वीचोकमा सस्तो बजार सञ्चालन गर्ने क्रममा त्यहाँ बस्नेहरुमाथि ज्यादति गरेको भन्दै विप्लव नेतृत्वको ने.क.पा.ले त्यो बेला उनलाई त्यसो नगर्न चेतावनी दिएको थियो।
त्यही क्रममा २०७४ सालको भदौ २६ गते सस्तो बजारको गेटमा बिस्फोट भएको थियो।


