विप्लव नेतृत्वको नेकपाको बन्द, जनजीवन प्रभावित

आफ्नो पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आह्वान गरेको साविकको बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछाप बन्दले जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था बन्द छन् । बन्दको क्रममा विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले विभिन्न स्थानमा बम पड्काउनुका साथै कैयन स्थानमा सवारी साधनमाथि तोडफोड र आगजनीसमेत गरेका छन् ।

बन्दको क्रममा मकवानपुरको ४ स्थानमा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । साउन १४ गते राती पौने १२ बजे हेटौंडा उपमहानगरपालिका ४ स्थित क्वीक ट्वाण्टी पार्टी प्यालेस अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलाभित्र प्रेसर कुकर बम राखेको थियो ।

झोलाको बाहिरी भागमा तारसमेत निकालिएको अवस्थामा भेटिएको बम बुधबार बिहान १ बजेर ३५ मिनेट जाँदा नेपाली सेनाको मध्य पृतना सुपारेटार ब्यारेकको डिस्पोजल टोलीले डिस्पोज गराएको छ ।

त्यसैगरी विप्लव नेकपाले हेटौडा उप महानगरपालिका ११ स्थित थाना भर्याङ शदा शिवम् पेट्रोल पम्प भन्दा २० मिटर उत्तरमा पर्ने पूर्व पश्चिम राजमार्गको सडक छेउमा प्रेसर कुकर बम राखेको पाइएको थियो ।

प्रेसर कुकरको बाहिरी भागमा टेप लगाई तार निकालेको अवस्थामा रहेको बमलाई नेपाली सेनाले साउन बिहान ४ बजेर १० मिनेट जाँदा डिस्पोज गरेको छ ।

त्यसैगरी हेटौंडा उप महानगरपालिका १ चौकीटोलस्थित खाद्य संस्थान अगाडि बाटोमा र वडा नं. ४ परिजात पथस्थित नारायणी नर्सिङ् कलेजको कम्पाउण्डको ५ मिटर पश्चिमतर्फको पेटीमा पनि प्रेसर कुकर बम फेला परेको छ ।

प्रेसर कुकरमा टेप लगाई तार निकालेको अवस्थामा भेटिएको थियो । भेटिएका बमहरु सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

नुवाकोटमा सरकारी कार्यालयमा आगजनी
नुवाकोट जिल्लाको ककनी गाउँपालिका १ कागतीगाँउको वडा नम्बर १ को कार्यालयमा आगजनी भएको छ ।

४–५ जनाको समूहमा आएका अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट उक्त भवनको २ वटा कोठामा रहेको कागजपत्र, फर्निचर, ४ थान पंखा र २ थान कम्प्युटर जलेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनामा विप्लव नेतृत्वको नेकपाको हात रहेको प्रहरीले आशंका गरेको छ ।

प्रतिबन्दित विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण आह्वान गरिएका सबै जिल्ला प्रभावित बनेका छन् ।

उपत्यका भित्रिने सवारी साधनहरु १ देखि १५ प्रतिशत मात्र चलेको छ भने उपत्यकाबाट बाहिरिने सवारीसाधन अन्य दिनको तुलनामा २० प्रतिशत मात्रै रहेको छ ।

रसुवा, गोर्खा, धादिङ, चितवन र नुवाकोट, मकवानपुर लगायतका जिल्लाहरुमा सार्वजनिक सवारी साधन निकै कममात्रामा चलेका छन् भने शैक्षिक संस्था बन्द रहेका छन् ।

उदयपुरबाट पश्चिमतर्फ आउने सवारी साधनहरु बन्द छन् । बारारा पर्सा, उपत्यकाका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका जिल्लामा पनि बन्दको प्रभाव परेको छ ।

Facebook Comments