पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अख्तियारकाे छापा, कागजात नियन्त्रणमा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो ।

अस्पतालमा एमआरआई मेसिन खरिद र सामाजिक सेवा इकाइ सञ्चालनमा बिषयमा अनियमितता भएकाे भन्दै उजुरी परेपछि अख्तियारले छानविन थालेकाे हाे ।
अनियमितता भएको उजुुरीका आधारमा छानविनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयाे ।
यसैवीच अस्पतालमा कार्यरत कर्मचारीहरुको छाता संगठन अस्पताल बिकास समिति कर्मचारी युनियनले प्रशासन लाई ४ बुदें ध्यानकर्षण पत्र बुझाएका छन् ।

यूनियनले पदपुर्ति समिति अबिलम्ब गठन हुनुपर्ने, १.१ को अनुपातमा प्रतिष्ठान र सरकारी कर्मचारीहरुको संरचना बनाईनुपर्ने माग गरेकाे छ ।
साथै प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारीको स्तरवृद्धि तथा अस्थायी कर्मचारीलाई स्थायी गरिनुपर्ने , क्षेत्रीय अस्पतालको आम्दानी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा खर्च गर्ने नपाइने जस्ता माग युनियनकाे रहेकाे छ ।
प्रतिष्ठान निर्देशकको ध्यानाकर्षण गराउँदै उनीहरूले माग पुरा नभए संघर्षका कार्यक्रम घाेषणा गर्ने बताएका छन् ।

