मन्त्रीहरु ठेक्का मिलाएको बापत कमिसन लिन्छनः काग्रेस सहमहामन्त्री महत
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकारलाई नौटङ्कीको संज्ञा दिनुभएको छ । काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार झुठा भाषण मात्रै गर्दै हिडेको र कामको सट्टा नौटङ्की चरित्र जनतालाई देखाउदै हिडेको आरोप लगाउनुभयो ।
सरकारका मन्त्रीहरु भ्रष्टाचार संरक्षण गर्न, आफू नजिकका लागि ठेक्कापट्टा र कमिसनतन्त्रमा लगाएको समेत आरोप लगाउनुभयो । पूर्व मन्त्री समेत रहनुभएका नेता महतले भ्रष्टाचारलाई बढावा दिन सरकार लागेको बताउनुभयो । उहाँले काँग्रेसको शिक्षा नीति अन्तर्राष्ट्रियस्तरसँग प्रतिस्पर्धा गर्ने खालको रहेको बताउनुभयो ।
व्यावसायिक शिक्षा आवश्यक हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने नेता महतको भनाई थियो । नेता महतले शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क प्रदान गर्न सकेमात्रै विश्वबजारसँग नेपाली युवा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।
अहिलेको शिक्षा शिक्षाको लागिमात्र भएको र व्यवहारिक नहुँदा विश्व बजारमा नेपालीको श्रमको मूल्यांकन हुन नसकेको बताउनुभयो । पार्टीभित्र आफू ठूलो हुने प्रवृत्तिका कारण वितृष्णा बढ्दै गएको बताउनुभयो । उहाँले मभन्दा पार्टी ठूलो हो भन्ने सोचका साथ अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा काँग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरी, शिक्षाविद् विद्यानाथ कोइराला, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, काँग्रेस नेता शुक्रराज शर्मा, प्रदेश सांसद विन्दुकुमार थापा, महिला संघ कास्कीकी सदस्य कोपिला रानाभाट, नेविसंघका केन्द्रिय सदस्य पुनम भट्ट लगायतले शिक्षा सबैका लागि आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा काँग्रेसका भातृसंगठनका अध्यक्ष तथा महासचिव र सचिव तथा शिक्षा क्षेत्रको व्यक्तिहरुको सहभागिता रहेको थियो ।

