नागढुंगा सुरुङमार्ग ४२ महिनामा बन्ने
धादिङकाे सिस्नेबाट काठमाण्डाै नागढुंगासम्मकाे सुरुङमार्गकाे साेमबार शिलान्यास गरिएकाे छ ।
सुरूङमार्गकाे शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताउनुभयाे ।
साथै उहाँले निर्माण कम्पनीलाइ समयमै काम सक्न अनुराेध समेत गर्नुभएकाे छ ।
उहाँले भन्नुभयाे, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’
नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको प्रधानमन्त्रीकाे कथन थियाे । साे अवसरमा प्रधानमन्त्रीले टाेखा–छहेर, बेत्रावती –स्याफ्रुवेशी सुरुङमार्गलाई अगाडि बढाउन लागिएको बताउनुभयाे ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यो सुरुङमार्गबारे अध्ययन गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको भन्दै १६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको बताउनुभयाे ।

