प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन
प्रधानमन्त्री इमरान खानको राजीनामा र निर्वाचनकाे माग सहित पाकिस्तानमा प्रदर्शन भएको छ ।
विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई)ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो ।
जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)काे समेत समर्थन रहेकाे बताइएकाे छ ।
जेयूआईले राजनीतिक शाखा अन्सार उल इस्लामको स्वतन्त्रताको माग गर्दै देशव्यापी मार्च निकालेको हाे ।
क्वेटा र कराँचीबाट सुरु भएको यो मार्च लाहोर हुँदै बिहीबार राजधानी इस्लामावादमा पुग्ने बताइएकाे छ ।
सरकारले जेयूआईलाई स्वतन्त्रता मार्च ननिकाल्न अपिल गरेको थियो । तर, त्यसको असर देखिएन । जेयूआईले प्रधानमन्त्री इमरान खानले राजीनामा दिनुपर्ने, नयाँ शिराबाट दोस्रोपटक आम चुनाव गराउनु पर्ने, इस्लामिक कानुनलाई छेडछाड गर्न नपाइने, इस्लामिक संस्थाको सम्मान गर्नुपर्ने लगायतका मुख्य माग राखेको छ ।
प्रधानमन्त्री खानले राजीनामा दिने अवस्था नरहेकाे पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

