शुल्क वृद्धिकाे विराेधमा चितवनका सप्तगण्डकी र बालकुमारी कलेजमा तालाबन्दी
शुल्क वृद्धिकाे विराेधमा चितवनकाे भरतपुरमा रहेका सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुका विद्यार्थीले पब्लिक क्याम्पस संघ चितवनले शैक्षिक शुल्क बढाएको विराेधमा ताेडफाेडका साथै कलेज प्रशासनमा तालाबन्दी गरेका हुन् ।
तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् । पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत, स्नातक कार्यक्रममा ३० प्रतिशत, सेमेस्टर प्रणालीमा १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेकाे थियाे ।
क्याम्पसले एक्कासी शुल्क वृद्धि गरेपछि विद्यार्थीहरू आक्रोशित भएको अनेरास्ववियू सप्तगण्डकी क्याम्पस इकाईले जनाएकाे छ ।
विद्यार्थी संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बढेकाे शुल्क लागू हुन नदिने बताएका छन्र ।
अनेरास्ववियुका इकाई अध्यक्ष हरि आचार्य, क्रान्तिकारीका इकाई अध्यक्ष समिर सुवेदी, नेविसंघका राजेश भुसाल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष ज्ञानसिंह मगरले संयुक्त रुपमा विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र बढाइएको शुल्क फिर्ता लिन अल्टिमेटम दिएका हुन् ।
तालाबन्दीसँगै विद्यार्थी संगठनका तर्फबाट बढेको शुल्क फिर्ता लिनुपर्ने, शैक्षिक गुणस्तर कायम राख्न विगतमा गरिएका सहमति कार्यान्वयन गर्नुपर्ने र तत्काल क्याम्पस सभा बोलाउनुपर्ने माग गरिएकाे छ ।

