अग्नि सापकाेटा सभामुख उम्मेदवार

लामाे समयकाे रस्साकस्सीपछि अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार दिउसाे बसेकाे नेकपा सचिवालयकाे बैठकले सापकाेटालाई सभामुख बनाउने निर्णय गरेकाे हाे ।

यसअघि आइतबार विहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)वीच सापकोटालाई सभामुख बनाउने सहमति जुटेकाे थियाे ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सुवासचन्द्र नेम्वाङलाई र अर्का अध्यक्ष पुष्पकमल दाहाल सापकोटालाई सभामुख बनाउने अडानमा रहँदा लामाे समयसम्म सभामुखबारे निर्णय हुन सकेकाे थिएन ।

नेकपाले सचिवालय बैठककाे निर्णयबारे छलफल गरी पारित गर्न सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य रहनुभएकाे छ ।

उहाँले सिन्धुपाल्चाेकबाट २ पटक संविधानसभामा र पछिल्लाेपटक २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

समाजशास्त्रमा स्नाकाेत्तर गर्नुभएका सापकोटा १५ वर्षको शिक्षण पेशामा रहनुभएकाे थियाे भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी( माओवादी)ले सञ्चालन गरेकाे १० वर्षे जनयुद्धमा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्याे ।

२ पटक मन्त्री भइसक्नुभएका सापकाेटा २०२९ सालमा विद्यार्थी संगठनमा संगठित भएपछि लगातार कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुहुन्छ ।

सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट रहेकाले पनि सभामुखका लागि प्रचण्डकाे राेजाइमा पर्नुभएकाे हाे ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री र ०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्री बन्नुभएकाे थियाे ।

तत्कालीन सभामुख महरा बलात्कारको आरोपमा जेल गएपछि सापकोटाले सभामुख बन्ने अवसर मिलेकाे हाे । सिन्धुपाल्चाेकमा सापकाेटा लाेकप्रिय नेताका रूपमा रहनुभएकाे छ ।

Facebook Comments