तमु युवाहरुको लक्ष्य सरकारी क्षेत्र प्रवेश हुनुपर्दछःमुख्यमन्त्री गुरुङ

तमु धिं नेपालले तमु विद्यार्थीहरुका लागि लोक सेवा आयोग परिक्षाको तयारी शुरु गरेको छ।

पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख, तमु धिं नेपालका प्रमुख सल्लाहकार शिक्षाविद एवम वरिष्ठ समाजसेवी गणेशबहादुर गुरुङको स्मृतिमा तमु विद्यार्थीहरुलाई निजामती सेवामा प्रवेश गराउने उद्धेश्यका लागि आयोजित तयारी कक्षाको गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुभएको हो।

प्रमुख अतिथि मुख्यमन्त्री गुरुङले शुभकामना व्यक्त गर्नुहुदै लामो संघर्षसँगै सहमतिमा प्राप्त संविधानले दिएको अधिकार पुर्ण रुपले उपयोग गर्नसके समावेशीताको अधिकारको अनुभूति हुने बताउनुभयो। विभेदकारी राज्यको चरित्रको अन्त्य र समानताको लागि लामो लडाईले ल्याएको परिवर्तनको उपलब्धि बेवारिसे हुन लागेको भन्दै श्रीखण्ड नै नभए पनि संविधानले दिएको अधिकार उपयोगका लागि जुट्नका लागि उहाँको जोड थियो।

म मुख्यमन्त्री भए पनि टुप्पी मात्रै छ, ज्यान नभए जस्तो भएकाले निजामती सेवामा तमु लगायत हिजोदेखि विभेदमा पारिएका समुदायको प्रवेशको आवाश्यकता रहेको भन्दै मुख्यमन्त्री गुरुङको आव्हान थियो।

बेलायतको सेवा सुविधा नेपालमै छ अहिले, स्वाभिमानका साथ मुलुकमै सेवा गर्न निजामती सेवामा प्रवेशमा तमुहरुले दिनुपर्ने उहाँको भनाई थियो।

विदेशमा बहादुर, भिसी र एमसी नेपालमा पछाडिएको रुपमा परिभाषित हुनु दुखदायी हो भन्नुहुदै उहाँले तमुहरुले ग्राउण्ड नै खाली गरेर विदेश पलायन गर्न नहुने बताउनुभयो।

गोर्खा भर्ति पनि क्रमिक रुपमा सिमित हुदै गएकाले अहिले पुस्तासम्म त केही केही पेन्सनले रमाउला, यस पछाडिका पुस्ताले निजामती सेवा नै रोज्नुपर्दछ, मुख्यमन्त्रीको भनाई थियो। १० वर्षमा आश्चार्यजनक ढंगले मुलुकमा विकास हुदैछ, निजामती सेवामा पनि सेवा सुविधा राम्रो भएकाले तमु युवाहरुको लक्ष्य सरकारी क्षेत्रमा प्रवेशका लागि हुनुपर्दछ, मुख्यमन्त्रीको भनाई थियो।

समावेशीताका अधिकारलाई उपयोग गर्दै निजामती सेवामा तमुहरुको प्रवेशका लागि तमु धिं नेपालद्धारा आयोजित लोक सेवा आयोग परिक्षा तयारी कक्षाले महत्वपुर्ण भुमिका खेल्ने भन्दै अत्यन्तै समय सान्दर्भिक कार्यक्रम आयोजना गरेको आयोजक तमु धिं नेपाललाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो।

अब प्रदेश सरकारले पनि करिब दुइ हजार बढी कर्मचारीको आव्हान गर्नुपर्ने अवस्था भएकाले यस तयारी कक्षामा सहभागीहरुले उक्त अवसरको सदुपयोग गर्नुपर्ने उहाँको भनाई थियो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले राज्यको हरेक निकायमा तमुहरुको सहभागीताका लागि युवाहरुले विशेष ध्यान दिनुपर्दछ भन्नुहुदै निजामती सेवामा प्रवेश विना समावेशीताको महसुस नहुने बताउनुभयो।अब राज्यको हरेक कुर्ची तमु युवाहरुको उपस्थिती गराउनका लागि तयारी कक्षाले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।

तमु विद्यार्थी समितिका पुर्व अध्यक्ष आस तमुले शुभकामना व्यक्त गर्नुहुदै तमु विद्यार्थीहरुका लागि तमु धिं नेपालले धेरै ठुलो स्थान प्रदान र प्रोत्साहन गर्दै आएको बताउनुभयो।तमु विद्यार्थीलाई प्रोत्साहित गरेकै कारण अहिले राज्यको विभिन्न निकायमा तमु विद्यार्थी समितिमा आवद्ध विद्यार्थीहरु प्रवेश गरिरहेको भन्दै लोक सेवा आयोगको परिक्षाका लागि तयारी कक्षाले तमु युवाहरुलाई सरकारी कर्मचारी क्षेत्रमा प्रवेश गराउन सघाउने बताउनुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले राज्यको हरेक कुर्चीमा तमुहरुको उपस्थितीका लागि परिक्षा तयारी कक्षा सुरु गरेको बताउनुहुदै अब तमु युवा विद्यार्थीको सपना निजामती सेवा हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा तयारी कक्षाका लागि सहयोगी संस्था निप्सल एजुकेशनका प्रवन्ध निर्देशक कुशल सुवेदीले लोक सेवा आयोग र लोक सेवा आयोग परिक्षाको आवाश्यकताका बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको संचालन तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो। तयारी कक्षामा ८१ जना तमु विद्यार्थीहरुको नाम दर्ता गरेको महासचिव गुरुङले बताउनुहुदै शनिवारदेखि नै नियमित तयारी कक्षा संचालन हुने जानकारी दिनुभयो।

शुक्रवार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको जन्मदिन परेकाले तयारी कक्षा उद्घाटन समारोहमा केक काटेर जन्मदिन समेत मनाइएको थियो भने कार्यक्रमका सहभागीहरुले शुभकामना व्यक्त गरेका थिए।

Facebook Comments