पूर्वसभामुख महरा जबरजस्ती करणी मुद्दामा निर्दाेष
पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डाै जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर सहित सफाइ दिएकाे छ ।
लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमवार महरा निर्दाेष रहेकाे फैसला सुनाएको हो।
अदालतकाे फैसलामा अभियाेग दावी नपुगेकाे उल्लेख छ । महरामाथि असाेज १२मा संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेकाे अभियाेग लागेकाे थियाे ।
उक्त आरोप सार्वजनिक भएपछि महराले असाेज १४ मा सभामुख पदबाट राजीनामा दिनुभएकाे थियाे भने असाेज १९ मा सरकारी निवासबाटै प्रहरीले पक्राउ गरेकाे थियाे ।
महराले बलात्कार प्रयासको आरोप अस्वीकार गर्दै आफलाइ फसाइएकाे बताउँदै आउनुभएकाे थियाे ।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा सभामुख बन्नुभएकाे थियाे । फैसलासँगै महराले अव सांसदकाे हैसियतमा सेवा सुविधा पाउनुहुनेछ ।

