वैदेशिक राेजगारीमा जान श्रम स्वीकृति स्थगन

चीनबाट फैलिएको कोरानो भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । 

कोभिड–१९ को सन्त्रास कम नभएसम्मका लागि श्रम स्वीकृति प्रदान नगरिने बताइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवका अनुसार अत्यावश्यक बाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा कोरोनाको जोखिम रहेका मुलुकमा कामदार नपठाउने बताउनुभयाे ।

“सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ”, मन्त्री यादवले भन्नुभयाे, ”त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेका छौँ ।” उहाँका अनुसार कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने छ ।

अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो ।

दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ ।

विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केहीदिन अघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए |

Facebook Comments