काेराेना भाइरसकाे प्रभावः अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन सरकारकाे अपिल

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन सर्वसाधरण सबैसमक्ष अपिल गरेको छ ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई अपिल गरेकाे हाे ।

समितिले २५ जनाभन्दा बढी सार्वजनिक रूपमा भेला हुन नपाइने जनाएकाे छ ।

सरकारकाे याे निर्णय पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा लागू हुनेछ ।

सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न भनिएकाे छ ।

समितिको निर्णय अनुसार मानिसहरुको जमघट हुने सार्वजनिक महत्वका स्थानहरूमा स्थानीय तहकाे ब्यवस्थापनमा दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने भएकाे छ ।

यसैवीच काेराेना भाइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट पर्यटक या अन्य कामका लागि समेत नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाउने निर्णय गरिएकाे हाे ।

यात्रा प्रतिबन्ध मार्च २० देखि अप्रिल १५ सम्म कायम रहनेछ ।

बैठकले चैत मसान्तसम्म शिक्षण संस्था समेत बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएकाे हाे । चैत ६ गते हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।

बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

काेराेना भाइरसकाे संक्रमण दक्षिण एशियातर्फ फैलनसक्ने विश्व स्वास्थ्य संगठनकाे चेतावनीसँगै सरकारले यस्ताे निर्णय लिएकाे हाे ।

विश्वव्यापी महामारीकाे रूप लिएकाे काेराेना भाइरसकाे संक्रमणका कारण झण्डै ८ हजारकाे मृत्यु भइसकेकाे छ भने २ लाख जतिमा संक्रमण भएकाे छ ।

Facebook Comments