सामाजिक दूरी कायम गरी काेराेनाबाट बचाैंः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नु नै उत्तम विकल्प रहेकाे बताउनुभएकाे छ ।
नयाँ वर्ष २०७७ काे अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले काेराेना भाइरसका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने खाँचो औंल्याउनुभएकाे छ ।
उहाँले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेकामा जाेड दिनुभएकाे छ ।
राष्ट्रपति भण्डारीले सन्देशमा नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएकाे छ ।
राष्ट्रपति भण्डारीले आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा समेत जोड दिनुभएकाे छ ।

