सार्क राष्ट्रहरुमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो

भारतमा ११ हजार र पाकिस्तानमा ५ हजार बढी संक्रमित
दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र)मा समेत कोरोना भाइरसको संक्रमण बढिरहेको छ । भारतमा संक्रमितको संख्या ११ हजार नाघेको छ ।

भारतमा मंगलबारसम्ममा ११ हजार ४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ सय ८३ जनाको मृत्यु भएको छ ।

भारतपछि सार्क राष्ट्रमध्ये पाकिस्तानमा संक्रमितको संख्या बढी छ । पाकिस्तानमा ५ हजार ८ सय ३७ जनामा संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा १ हजार १२ जनामा संक्रमण देखिएको छ भने ४६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । श्रीलंकामा २ सय ३३ जनामा संक्रमण देखिनुका साथै ७ जनाको मृत्यु भएको छ ।

अफगानस्थानमा ७ सय १४ जनामा संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ । माल्दिभ्समा २० जना, नेपालमा १६ जना र भुटानमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दक्षिण एशियाली मुलुकहरुमध्ये भारत, पाकिस्तान, बंगलादेश र अफगानस्थानमा संक्रमण क्रमशः फैलिरहेको छ ।

प्राय मुलुकहरु लडडाउनको अवस्थामा रहेका छन् । कोरोना भाइरसबाट बच्न कुनै औषधि वा खोप पत्ता लागिनसकेकाले लकडाउन तथा सामाजिक भौतिक दुरीमा रहनु र अत्यावश्यक काममा बाहेक घरबाहिर नजानु नै उचित सावधानी हुने विज्ञहरुको सुझाव रहेको छ ।

Facebook Comments