रूकुम घटनाबारे छानविन गर्न संसदीय समिति गठन

सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गर्ने घोषणा गर्नुभएकाे छ ।

जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि रूकुम चाैरजहारीमा हमला गरिएको थियो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले उक्त घटनाको छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठनको घोषणा गर्नुभएकाे हाे । खास गरी विपक्षी दल नेपाली कांग्रेस र दलित सांसदहरूले संसदीय छानविन समिति गठनकाे माग गरेका थिए ।

सभामुखले संसदीय विशेष छानविन समिति गठनकाे घाेषणा गरेपनि समितिमा काे काे रहने भन्ने टुंगाे लागेकाे छैन ।

प्रतिपक्षी कांग्रेसका सांसदहरुले उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।

जाजरकोटका युवा नवराज विक प्रेमिकासँग विवाह गर्नका लागि १९ जना साथीहरू सहित पश्चिम रुकुम गएका बेला साे घटना घटेकाे हाे ।

रुकुम पश्चिम चाैरजहारी सोतीकी केटीको घरमा पुग्दा नवराज लगायत १९ जना युवाहरूलाई गाउँलेले लखेटेका थिए । साे क्रममा ६ जनाकाे मृत्यु भएकाे थियाे भने अन्य केही घाइते भएका थिए ।

जातीय विभेदका कारण उक्त घटना घटेकाे दलित अधिकारकर्मीहरूकाे ठहर रहेकाे छ । मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् ।

मृतकका परिवारका सदस्यकाे उजुरीपछि उक्त घटनामा संलग्न रहेकाे अाशंकामा वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १० जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ । घटनामा संलग्न थप ७ जना पनि विहीबार पक्राउ परेका छन् ।

Facebook Comments