सत्तारूढ दल नेकपाकाे स्थायी कमिटी बैठक बस्दै

६ महिनापछि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे स्थायी कमिटी बैठक बुधबार बस्दैछ । खास गरी अमेरिकी सहायता परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीबारे बैठकमा छलफल हुने बताइएकाे छ ।

यद्यपि एमसीसीबारे पार्टीका दुइ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच समान धारणा नबनेपछि बैठकमा ठाेस एजेण्डा तय हुन नसकेकाे श्राेतले बताएकाे छ ।

यसअघि पार्टीभित्रकाे अन्तर्विराेधका कारण स्थायी कमिटी बैठक पटक पटक स्थगित भएकाे थियाे ।

बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ । बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डामा केन्द्रित रहेर छलफल हुने बताइएकाे छ ।

नेकपामा एमसीसीलाई संशोधनविना पास गर्न नहुने मत रहेकाे छ । नेकपा स्थायी कमिटी बैठकको बहुमतले एमसीसी सम्झौताबारे निर्णय गर्न सक्ने अपेक्षा गरिएकाे छ । संसदबाट एमसीसी सम्झाैता पारित गर्नुपर्ने समयसीमा असार १७ सम्म रहेकाे बताइन्छ ।

एमसीसी नेपालकाे संसदले अनुमाेदन गरेमा अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग दिने छ ।

Facebook Comments