नेकपाका अध्यक्षद्वयकाे छलफल सकियाे
नेकपामा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल विनानिष्कर्ष सकिएको छ ।
अध्यक्षबीच भएको छलफलमा नेकपाका नेताहरू जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन, विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी थिए ।
छलफलमा सहभागी नेताका अनुसार सोमबार पुनः दुबै अध्यक्षबीच वार्ता हुने गरी आजको छलफल सकिएको जानकारी दिए ।
सबै विषयमा खुलस्त कुरा भएको र छलफल सकारात्मक दिशातर्फ अघि बढेको ती नेताकाे भनाइ छ ।
सोमबार नेकपाको स्थायी कमिटी बैठक पनि बस्दै छ । स्थायी कमिटी बैठकअघि दुवै अध्यक्षबीच फेरि वार्ता हुने तय भएको हो ।
खासगरी नेकपामा पछिल्लाे समय प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामाकाे बिषय पेचिलाे बनेर उठेकाे छ । स्थायी समितिका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भने पार्टी र सरकार दुवै नछाड्ने अडानमा रहनुभएकाे छ । विवाद बढ्दै जाँदा दुवै पक्षले एक अर्कालाइ पार्टी फुटाउन खाेजेकाे आराेप लगाउँदै आएका छन् ।

