विहीबारदेखि घटस्थपनासँगै दशैं प्रारम्भ

हिन्दुहरूकाे महान चाड बडा दशैको पहिलो दिन घटस्थापनाका अवसरमा शुभसाइतमा जमरा राखिएकाे छ ।

हनुमान ढाेका दरबार, गाेरखाकाे कालिका मन्दिर लगायतका देशका विभिन्न स्थानमा रहेका काेटहरूमा शुभसाइतमा पुजा गरेर घट्ट स्थापना गरिएकाे छ ।

विहान ११:४६ बजेको शुभ साइतमा घट्ट स्थापनासँगै जमरा पनि राखिएको छ । आज शैलपुत्री भगवतीको पुजा हुने बताउँदै भगवतीलाई कालिका मन्दिरको गर्भ गृहमा सार्ने गरिन्छ ।

गाेरखा दरवारमा नियमित बलि पनि घटस्थापनाकै दिनबाट शुरु हुने गर्दछ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी बिसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Facebook Comments