१० बजेर २ मिनेटमा दशैंकाे टिकाकाे शुभसाइत

हिन्दुहरूकाे महान् चाड बडा दशैंकाे महत्वपूर्ण दिन शुक्रबार माता दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गर्ने गरिन्छ । टिका ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २ मिनेट मानिएको छ ।

नवरात्रभरि देवीकाे पुजा अर्चना गरिन्छ भने दशाैं दिनमा देवी विसर्जन गरी मान्यजनबाट टिका प्रसाद तथा अाशिर्वाद लिने चलन छ ।

नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार ढाक्ने गरी टिका लगाइन्छ ।

परिवारका सबै सदस्य एकै ठाउँमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

घरतर्फ टीका लगाउँदा शुभाशिषसहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ ।

वैदिक सनातन धर्मानुयायीहरूले दसँैको आर्शिवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन् रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असूरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहोल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।

टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्शिवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषमा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशिर्वाद


आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थः


द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिँदा भन्ने आशिर्वाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सार्मथ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पावन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिषले जीवनमा उर्जा भरोस् भनेर कामना गरिन्छ ।

Facebook Comments