एकीकृत समाजवादीसँग एमाले अत्तालियाे, व्याख्यात्मक टिप्पणीबारे अपबाह फैलाउने काम गर्दैछः नेकपा एस
नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको संसद्मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली अत्तालिएकाे जनाएकाे छ ।
एमसिसी र समसामयिक राजनीतिबारे जानकारी दिन साे पार्टीले गरेकाे पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले एमाले तर्सिएकाे बताउनुभयाे ।
आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्मा तमासा देखाउँदै आएको अध्यक्ष नेपालकाे टिप्पणी थियाे ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो पार्टी कानुन सम्मत रूपमा आयोगमा दर्ता भएर संसद्मा आएको बताउनुभयाे ।
उहाँले एमसीसीको रटान लगाएर नथाक्ने एमाले अन्तिममा आएर एमसीसीको पक्ष तथा विपक्षमा नखुलेर तमासा देखाएको आरोप समेत लगाउनुभयाे ।
एमसिसीमा व्याख्यात्मक टिप्पणीप्रति अमेरिका र चीनले समेत सकारात्मक रूप दिएकाेमा यसबारे अफबाह फैलाउन खाेजिएकाे नेता नेपालकाे भनाइ थियाे ।
अन्तर्राष्ट्रिय रूपमा नै सम्झाैतासँगै व्याख्यात्मक टिप्पणीले मान्यता पाउने नेता नेपालकाे जिकीर थियाे । एकीकृत समाजवादीकाे अस्तित्व समाप्त पार्न एमालेका अध्यक्ष अाेलीले षडयन्त्र गर्ने गरेकाे उहाँकाे आराेप थियाे ।

