विज्ञापन सम्बन्धि आचारसंहिता सार्वजनिक

नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धि आचारसंहिता वनाई सार्वजनिक गरिएको छ।

विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो आचारसंहिता सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा माननीय मन्त्री सहित सञ्चार तथा सूचना मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल विज्ञापन संघ नेपालका अध्यक्ष सोम धिताल, मिडिया सोसाईटीका महासचिव मदन लम्साल, नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेल, बरिष्ठ पत्रकार बबिता बस्नेत, सञ्चारीका समुह नेपालका अध्यक्ष बिमला तुम्खेवाले समेत सार्वजनिक गर्नु भएको थियो ।

सरोकारवालाहरुले लामो समयदेखि माग गर्दै आएको उक्त आचारसंहिता विज्ञापन बोर्डको गठन पछि सरोकारवाला र विज्ञसँग छलफल र अन्तरक्रिया पश्‍चात विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ग) बमोजिम निर्माण गरी कार्यान्वयनमा ल्याईएको हो।

आचारसंहिताले विज्ञापन बजारमा देखिएका अपारदर्शी तथा अस्वस्थ्य प्रतिष्पर्धा लगायतका विकृति तथा विसंगतिलाई कम गरी विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउने तथा उपभोक्तालाई गुणस्तस्तरीय वस्तु तथा सेवा प्राप्‍तिमा सुनिश्चितता प्रदान गर्ने विश्वास लिएको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले वताउनु भयो।

विज्ञापन आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाई विज्ञापन व्यवसायलाई मर्यादित बनाउने विश्वास बोर्डले लिएको छ। आचारसंहितामा विज्ञापन गर्न हुने र नहुने विषयवस्तुका सम्बन्धमा स्पष्ट रुपमा उल्लेख गरेको छ।

आज सार्वजनिक गरिएको आचारसंहितमा उपभोक्ताको हक हितको संरक्षण, महिला, वालवालिका तथा पिछडिएका बर्गको हितको संरक्षण जस्ता विषयवस्तुहरु समेटिएका छन्।

विज्ञापनको उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणमा संलग्‍न व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहिता केन्द्रीत छ। विज्ञापन उत्पादन गर्दा मौलिक सृजनालाई प्राथमिकता दिने, स्वदेशी कला र सँस्कृतिलाई प्रोत्साहन गर्ने व्यवस्था समेत गरिएको छ। अरुको नक्‍कल गर्न नहुने लगायतका विषयमा आचारसंहितमा विशेष व्यवस्था गरिएको छ। 

आचारसंहिताका बिषयबस्तुहरु सामाजिक मर्यादा कायम गर्न, महिला तथा वालवालिको विज्ञापनमा दुरुपयोग हुनबाट रोक्न, उपभोक्ताको हितको संरक्षण गर्न, स्वच्छ प्रतिष्पर्धात्मक वातावरण सृजना गर्न परिलक्षित छन्।

आचारसंहितामा स्थलगत तथा डिजिटल माध्यमबाट हुने विज्ञापनको उत्पादन, वितरण तथा प्रकाशन वा प्रसारण गर्दा अपनाउनु पर्ने आचारणका बिषयमा स्पष्ट व्यवस्था गरिएको छ।

आचारसंहिताले विज्ञापन उत्पादनमा मौलिक, सृजनशिल र व्यवसायिक हुनुपर्ने कुरामा जोड दिएको छ। त्यसैगरी विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक र प्रामाणिक हुनु पर्ने, भ्रमपुर्ण र दोहोरो अर्थ लाग्‍ने विज्ञापन गर्नु गराउनु नहुने, विज्ञापनदाताको परिचय स्पष्ट खुल्नु पर्ने तथा विज्ञापनमा उल्लेख भएको गुणस्तर र मात्रा बजारमा वितरित वस्तु तथा सेवामा अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था समेत गरिएको छ।

विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण गर्दा विज्ञापन बोर्डमा सूचीकृत सञ्‍चारमाध्यममा मात्र गर्नुपर्ने, स्वदेशी सञ्‍चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएकोछ। विज्ञापनदाताले विज्ञापन एजेन्सी परिवर्तन गर्दा पुरानो एजेन्सीको

वक्यौता चुक्ता गर्नुपर्ने, सम्भव भएसम्म प्रदेश तथा स्थानीय तहका विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा प्रादेशिक तथा स्थानीय सञ्‍चारमाध्यमलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था समेत आचारसंहितामा गरिएको छ।

विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा तोकिएको स्थान, समयमा गर्नुपर्ने, विज्ञापन प्रकाशन भएको पत्रिकाको अंक कसैलाई लाभ वा हानि पुर्‍याउने नियतले बजारमा जान रोक्ने जस्ता दुष्कर्म कदापि गर्न नहुने जस्ता व्यवस्था आचारसंहिताले गरेको छ।

प्रकाशित वा प्रसारित नै नभएको विज्ञापन प्रकाशन तथा प्रसारण भएको भनी भुक्तानी माग गर्ने, विज्ञापन प्रकाशन वा प्रसारणको अनुरोध वेगर नै विज्ञापन प्रकाशित गरी भुक्तानी माग गर्ने लगायतका जबरजस्ती गर्ने क्रियाकलाप गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ।

विज्ञापनलाई समाचारको रुपमा र समाचारलाई विज्ञापनको रुपमा प्रकाशन तथा प्रसारण गर्न नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ। सामाजिक सञ्‍जालमा विज्ञापन गर्दा सामाजिक संजालले नियामक निकायबाट अनुमति लिनुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ।

विज्ञापन बजार अपारदर्शी भएको गुनासो आईरहेको वेला विज्ञापनको आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने अपेक्षा बोर्डले गरेको छ।

त्यसका लागि सञ्‍चारमाध्यमले आफ्नो दर सार्वजनिक गर्नुपर्ने र त्यसमा दिने छुटसम्म खुलाउनु पर्ने, सार्वजनिक गरिएको दररेटमा घटि वा वढी गरी कारोवार गर्न नपाईने, विज्ञापन एजेन्सीले सञ्‍चारमाध्यमले तोकेकै दररेटमा कारोवार गर्नुपर्ने, सरकारी निकायले सञ्‍चारमाध्यमको बीलको प्रतिलिपि हेरेर मात्र उक्त बीलमा एजेन्सी कमिशन दिनुपर्ने भए एजेन्सी कमिशन समेत खुलाएर बनाएको बीलमा मात्र भुक्तानी गर्नुपर्ने, विज्ञापन करोवार गर्दा त्रिपक्षीय सम्झौताको आधारमा गर्नुपर्ने जस्ता व्यवस्था गरिएको छ।

सञ्‍चार माध्यमले दररेट निर्धारण गर्दा आफ्नो प्रभाव, पहुँच र लोकप्रियताको आधारमा मात्र गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ।

विज्ञापन बजारलाई पारदर्शी बनाउन विज्ञापन बोर्डमा सूचीकृत सञ्‍चारमाध्यममा मात्र कारोवार गर्नुपर्ने, बोर्डमा सूचीकृत एजेन्सीसँग मात्र कारोवार गर्न सकिने व्यवस्था आचारसंहिताले गरेको छ।

विज्ञापनको आचारसंहिताले भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन विज्ञापनदाताले विज्ञापन एजेन्सीलाई ३० दिन भित्र भुक्तानी दिनुपर्ने, एजेन्सीले सञ्‍चारमाध्यमलाई ६० दिन भित्र भुक्तानी गर्नुपर्ने व्यवस्था समेत गरेको छ। तोकिएको समयमा भुक्तानी प्राप्त नभए बोर्डमा उजुरी दिन सकिने र बोर्डले भुक्तानी समयमा नगर्ने विज्ञापनदाता तथा एजेन्सीलाई कालोसूचीमा राखि अन्य सञ्‍चारमाध्यममा समेत कारोबार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ।

विज्ञापनदाताले आफुले चाहेको सञ्‍चारमाध्यममा विज्ञापन गर्न पाउनु पर्ने, एउटा सञ्‍चार माध्यममा विज्ञापन गरेको आधारमा आफ्नो सञ्‍चारमाध्यममा विज्ञापन गर्न दवाव दिन नहुने लगायतको व्यवस्था गरी सञ्‍चारमाध्यम चयनको हक विज्ञापनदातामा रहने व्यवस्था समेत आचारसंहिताले गरेको छ।

आचारसंहिता उल्लङ्गन भएमा बोर्डमा उजुरी गर्न सकिने, प्राप्त उजुरीलाई आचारसंहिता उल्लङ्गन भएको भए आचारसंहिता बमोजिम र कानून नै उल्लङ्घन भएको पाईए कानून बमोजिम कारवाही गर्ने व्यवस्था गर्नुका साथै बोर्डले समेत आचारसंहिताको नियमित अनुगमन गर्ने व्यवस्था गरेको छ। 

आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले विज्ञापन बोर्डले सार्वजनिक गरेको आचारसंहितामा सरोकारवालासँग बृहत छलफल गरेको भन्दै त्यसको कार्यान्वयनबाट छिट्टै नै सकारात्मक प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । माननीय मन्त्रीज्यूले आचारसंहिता कार्यान्वयनमा कुनै समस्या भए बोर्ड र मन्त्रालयले त्यसलाई सहज निकाश दिने बताउदै सरोकारवालाहरुलाई कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सरकार विज्ञापन क्षेत्रका समस्याको समाधान गर्न तत्पर रहेको पनि बताउनु भयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले आचारसंहिता बृहत र व्यापक रहेको बताउदै सरकार आचारसंहिताको पालनामा तत्पर रहेको बताउनु भयो । उहाँले विज्ञापन बोर्डले छोटो अवधिमा आचारसंहिता निर्माण गर्न सफल भएकोमा प्रशंसा गर्नु भयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आचारसंहिताले पारदर्शीतामा जोड दिएको भन्दै सञ्चार माध्यमको प्रभाव, पहुँच, लोकप्रियता र त्यस अनुसारको विज्ञापनको दररेट तथा दररेटमै कारोवार गर्ने परम्पराको विकासमा आचारसंहिता केन्द्रित रहेको वताउनु भयो । समयमै भुक्तानी गर्ने, सञ्चारमाध्यमको बीलको आधारमा भुक्तानी गर्नु पर्ने तथा समयमा भुक्तानी गर्नु पर्ने व्यवस्थामा कडाई गरिने बताउनु भयो ।

त्यस अवसरमा नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले आचारसंहिता सम्झौताको दस्तावेज भएको भन्दै विज्ञापन संघ नेपाल त्यसको कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेल, मिडिया सोसाईटीका महासचिव मदन लम्साल, बरिष्ठ पत्रकार बबिता बस्नेतले आचारसंहिता प्रभावकारी रहेको भन्दै कार्यान्वयनमा सवैको सहयोग आवश्यक हुने बताउनु भयो ।

Facebook Comments